असार १६ काठमाण्डौ । राष्ट्रपतिले बुधबार प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालय तहका अस्थायी शिक्षकलाई सुविधासहितको अवकास लिने वा स्थायी हुनका लागि परीक्षा दिने विकल्प रोज्न गरिएको व्यवस्थाप्रति अस्थायी शिक्षकहरुले आपत्ति जनाएका छन्।
लामो समयसम्म काम गरेका सबै शिक्षकलाई स्थायी हुनका लागि अन्तिमपटक परीक्षाको मौका दिइनुपर्ने र उत्तीर्ण हुन नसक्नेलाई सेवा अवधिका आधारमा सुविधा उपलब्ध गराएर अवकास दिइनुपर्ने उनीहरुले माग गरेका छन्।
शिक्षा मन्त्रालयले कानुनी व्यवस्था विपरीत कुनै निर्णय गर्न नसकिने बताएको छ।
पछिल्लो संशोधनसहितको शिक्षा ऐनमा हालसम्म कार्यरत अस्थायी शिक्षकहरुले स्वेच्छिक अवकास लिन चाहेमा उनीहरुलाई काम गरेको समयावधिका आधारमा सुविधासहित अवकास दिइने व्यवस्था गरिएको छ। हाल देशभर अस्थायी शिक्षकका रुपमा करिब १७ हजार देशभर कार्यरत रहेको बताइएको छ।