चितवन, १७ असार । चितवनको चण्डिभञ्याङ गाविस–९ स्थित पाँचकिलो भन्ने पहिरोसँगै खसेको ढुङ्गो हटाएर खुलाइएको केही घन्टामै फेरि नारायणगढ मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ । रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै पहिरो खसेको प्रहरीले जनाएको छ । भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा बिहान ५ बजेर ५० मिनेटदेखि अवरुद्ध सडकलाई केही घन्टा लगाएर खुला गरिएको थियो । अहिले फेरि चार स्थानमा पहिरो खसेर बाटो पूर्ण बन्द भएको छ । ‘गाडी पास हुनै नपाइ पुनःपहिरो खसेर बाटो बन्द भयो, चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले भन्नुभयो, डोजरको सहायतामा पहिरो हटाउने क्रम जारी छ ।’ तर पानी पर्न नरोकिएकाले मुस्किल भइरहेको उहाँले बताउनुभयो । उक्त सडकको चार किलो, पाँच किलो, नौ किलो र घुमाउने भन्ने स्थानमा पहिरो खसेको छ । एक ठाउँमा पहिरो हटाउँदा अर्को स्थानमा पहिरो खस्ने क्रम रहेकाले यहाँका यात्रुहरुले सास्ती पाएका छन् । सडक बन्द हुँदा उक्त खण्डमा गाडीको लामो लाइन लागेको छ । दैनिक सातहजार भन्दा बढी सवारी चल्ने सो सडकखण्ड बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा क्षेत्र जाने आउने सवारी पूर्णरुपमा रोकिन्छन् । यता रातिदेखिनै परेको वर्षाका कारण चितवनको जनजीवन प्रभावित भएको छ । दक्षिण माडीका खोलामा बाढी आएकाले यातायात अवरुद्ध छ । बिहान बाढीले खतराको सङ्केत नाघेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिनुभयो ।