नयाँ दिल्ली, १७ असार । भारतको उत्तरी राज्य उत्तराखण्डमा जारी रहेको अविरल वर्षाका कारण कम्तीमा पनि नौ जनाको ज्यान गएको छ । लगातार २४ घन्टादेखि उत्तरराखण्डमा व्यापक मात्रामा वर्षा भएको र त्यसका कारण बाढी आएको छ । उक्त राज्यको चामोली र दिदीहाटमा आएको बाढीमा परी ती सर्वसाधारण मारिएका हुन् । सो राज्यको चमोली र दिदीहाट जिल्लामा यस्तो बाढीको प्रकोप सुरु भएको बताइएको छ । ती जिल्लामा अरु पनि ठूलो सङ्ख्याका व्यक्ति प्रभावित भएका छन् । भौतिक सम्पत्तिको पनि क्षति भएको बताइएको छ । कैयौं घर भत्किएका छन् भने सयौंघर डुबानमा परेका छन् । अधिकारीहरुका अनुसार उत्तराखण्डमा बाढीको प्रकोप अझै बढ्नसक्ने खतरा रहेको मौसमविद्हरुले जनाएका छन् । मौसमविदहरुले आगामी २४ घन्टा नै भारी वर्षा नघट्ने जनाएका छन् । उनीहरुले थप सतर्कता अपनाउन र नागरिक सुरक्षाका मापदण्डहरु अपनाउन सरकारलाई सुझाव पनि दिएका छन् । उत्तराखण्डमा भारी वर्षा र पहिरोजस्ता प्राकृतिक प्रकोपहरु सामान्यजस्तो नै भएको छ । वर्षेनी यहाँ वर्षा र बाढीबाट नागरिकको ज्यान जाने गरेको छ।