काठमाडौँ, २७ असार । सत्तारुढ दलले सरकारका काम कारबाहीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउने भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अबेरसम्म बसेको सत्तारुढ दलको बैठकले गठबन्धनभित्र देखिएका कमीकमजोरीलाई सच्याएर सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको हो ।सत्तारुढ प्रमुख दलका नेताले दिएको प्रतिक्रिया अनुसार सत्ता सञ्चालनका विषयमा देखिएका कमीकमजोरीलाई सुदृढ र प्रभावकारी ढङ्गले समाधान गर्ने विषयमा छलफल भएको हो ।बैठकले सत्ता सञ्चालनलाई अझ प्रभावकारी बनाउने र गठबन्धनमा देखिएको खटपट र मतभेदलाई किनारा लगाउन प्रमुख दुई पार्टीका शीर्ष नेताहरु एमाले अध्यक्ष एवं प्रधानमन्त्री के पी ओली र माओबादि अध्यक्ष प्रचण्डलाई टुङ्गो लगाउने जिम्मेवारी दिएको छ । सोमबार थप गृहकार्यका साथ शीर्ष नेता बसेर असमझदारी अन्त्य गर्ने र मङ्गलबार पुनः बस्ने सत्तारुढ दलको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्नेछ । पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलिरहेका बेला वर्तमान गठबन्धनलाई थप मजबुद बनाएर लैजाने गरी सत्तारुढ दलले छलफल गरेको बताइएको छ । माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार गठनका लागि खुल्ला रहने नीति लिएपछि वर्तमान गठबन्धनबारे विभिन्न टीकाटिप्पणी सुरु भएको थियो ।