हरेक दिन राजधानीबाट प्रकाशीत हुने दैनिक अखबारहरुमा कुनै न कुनै नेताका बडेमानका तस्वीर सहित समाचार नछापिकन बजारमा पत्रिका नै बिक्दैन भन्ने सोच पत्रिकाका मालिकहरुमा पर्न गएको हो वा पत्रिकाका मालिक नै नेताहरु भएर हो यसको भेउ मैलें आज सम्म पाउन सकेको छैन ।
हुन त पत्रिका १० रुपैँयामा बिकेर मात्रै पनि पत्रिकाको खर्च उठन सक्ने स्थिती नरहेको कुरा धेरै वर्ष पहिले नै नेपाल समाचारपत्रका प्रधान सम्पादक एवं कामना प्रकाशन गृहका अध्यक्ष पुस्करलाल श्रेष्ठले लेखी सक्नु भएको कुरा हो । सुचानाको हक सर्वसाधारण जनतामा निहित रहेकाले निःशुल्क पाउनु पर्ने आवाज समेत उठाउनु भएको थियो तर त्यो हाम्रो देशमा अहिले सम्म सम्भव भएको छैन ।
यसै सिलसिलामा मैले वरिष्ठ लेखक हरि अधिकारीसँग पनि प्रसंग बस कुरा कोट्याउदा कुनै धार्मिक एवं जातिय प्रचारका सामाग्री बाहेक कुनै पनि अखबार निःशुल्क रुपमा नपाइने कुराको भेउ पनि उहाले खोल्नु भएको थियो र सरकारले आफ्ना सुचना निःशुल्क नै दिनु पर्ने र दिदै आएको कुरा समेत उल्लेख गर्नु भएको थियो । यो प्रसङगलाई यहि छाडौ, खास गरेर मैले यहाँ उल्लेख गर्न चाहेको प्रशंग के भने नेपाली अखबार नेता मैत्रि मात्र भए नेताका पछाडी मात्र दौडिए सञ्चार माध्यमले न त देश बिकाशका समाचार लेखे न समृद्धिका बाटाहरु पहिल्याए ।
आखिर नेपालका पत्रिकाहरु किन नेताका पछि दौडिइरहेका छन् ? आज यहाँ गम्भिर प्रश्न खडा भएको छ । देशलाई बिश्वमा चिनाउने पुरस्कार शाह देखि समृद्धिको ढोका ढक–ढक्याउने विश्वमा नेपालको नाम उच्च राख्न सफल उद्योगी बिनोद चौधरी देखि अष्टे«लीया मै धनी उद्यमी, शेष घले, कुश कुमार जोशी, चन्द्र ढकाल, बैंकर अनिल केशरी शाह, शशिन जोशी नेपालमा पहिलो अस्ट्रिच पालक भैरहवाका सि.पी शर्मा जस्ता उद्यमीका नाम आज नेपाली अखबारमा बिरलै पढन पाइन्छ ।
डा.सुन्दुक रुइत देखि माहाविर पुन जस्ता देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन लम्किएका कयौ अनुहारहरु आज पनि बत्ति मुनिको अध्यारो मै रुमलिइरहेका छन् तर देशलाई बर्वादिको खाडलमा धकेल्न तल्लिन रहेका भ्रष्ट र जनघाति नेताका पछाडि सधैं पत्रकारहरु किन कुद्छन् ? यहाँ गंम्भिर प्रश्न चिन्ह खडा भएको छ र यस सन्र्दभमा स्वच्छ र इमानको पत्रकारीता गर्छु भन्नेहरुले हृदय देखि नै सोच्नु पर्ने समय घर्कीई सकेको छ ।
अन्यथा पेशा नै बदल्दा पनि अन्याय नहोला आखिर सत्यको पक्षमा कलम चलाउन सकिदैन र सधैँ बिकाउ नै बन्नु छ भने मासु पसल नै खोले भै हाल्यौ नी सधैँ चाकडी र चाप्लुसीमै रमाउन चाहने र तिनैका भजन गाउने भजन मण्डलीहरुको झुण्डबाट जब सम्म नेपाली पत्रकारिता जगतले मुक्ति पाउन सक्दैन तब सम्म हाम्रो जस्तो मुलुकमा स्वच्छ निर्भिक र निर्मल पत्रकारीता हुन सक्दैन । अनि पत्रकारहरु सधैँ जता मल्कु उतै ढल्कु भने जस्ता हुन्छन् र जस्को मानो खायो उसैको दुनो सोझ्याउछन र राम्रा समाचार सधैँ ओझोलमै पर्छन् ।
देश बनाउन भनेर राजनितिमा लागेका नेताहरुले खुल्लमखुल्ला जोगी हुन राजनितीमा लागेको होइन भन्ने गरेका छन । यसको अर्थ हामीले के बुझ्नु पर्छ भने नेताहरु राजनितिलाई माध्यम बनाएर कमाउ धन्दा गर्न चाहन्छन् । उद्योग धन्दा कलकारखाना देखि ठेक्का पट्टा र गुण्डा गर्दिमा समेत यिनीहरुको अप्रत्यक्ष साठ–गाठ रहेको पाइन्छ । हामी कँहा जतिपनि गैरकानुनी वा गैरन्यायिक र अपराधिक घटना र परिघटनाहरु नेताकै वरिपरी रहेकाहरुबाट भैरहेका छन तर ति घटना गुमनाम नै रहन्छन् किनकी त्यो बाहिर ल्याउने काम सञ्चारमाध्यमले गर्न सकेका छैनन् । त्यसमा कार्यरत सञ्चारकर्मी नै उनिहरुकै मातहतमा चलेका हुनकी भन्ने प्रश्न उठ्छ ।
यसैले त यहाँ अमन चयन र बेथितीले डेरा जमाइ रहेको छ र धमिलो पानीमा माछा मार्नेहरु मौलाई रहेका छन् । यद्घपी आफ्नो पेशा, व्यावसाय र बिवेकलाई बन्दकी राख्न नचाहनेहरु आज पनि राजधानीका गल्लीमा कमिज, सरुवाल र चप्पल मै समोसा चाटको जोह मै रुमलिइ रहन बाध्य छन् भने आफ्नो बिवेक र बुद्घि वन्दक बनाउनेहरु आलिसान महलमा बसि महंगा गाडिले निस्ठावानहरुलाई हिलो छयाप्नमै व्यस्त छन । यहि नै हाम्रो बिडम्बना हो । सम्भावना र समृद्घिका ढोका ढक–ढक्याउन लाग्नु पर्ने संचार माध्यहरु चाकडी चाप्लुसी र चम्चागीरि मै अलमलिदा नेपाली समाज कतै विपरित दिशा तर्फ त मोडिएको छैन ।
बुझक्कडहरुले बेलैमा बुद्घिमता पूर्ण व्यवाहार एवं कार्य दिशा तर्फ तल्लिन हुनु आजको टड्कारो आवश्यकता हो अन्यथा मै–खाउ,मै–लाउ, सुखसयल, वा मोजमस्ती, म गरु, अरु सव मरुन् दुर्जनहरु भन्ने भावनाको मात्र बिकाश हुन गई देश समृद्ध तर्फ अगाडि बढ्न सक्दैन हामी झन गरिब र पछौटे हुदै जाने छौ, देशमा भएका सम्भावनाहरुको खोजी गरी सम्बन्धीत निकाय सम्म पु¥याउनु संचार माध्यमको सबै भन्दा महत्वपूर्ण भुमिका रहन्छ । नेपालमै रहेका अथाह श्रोत साधानहरुको खोजीमा सञ्चार माध्यम लाग्नु जरुरी छ, यसबाट परनिर्भरता हटि स्वदेशमै हजारौ यूवाहरुलाइ रोजगार सिर्जना गर्न सकिन्छ । जसबाट खाडी मुलुक धाउनु पर्ने बाध्यता टर्न सक्छ ।
हाम्रै देशमा सम्भावना भएका विभिन्न किसिमका खनिज पदार्थहरु पेट्रोलियम पदार्थ ग्यास, फलाम,जस्तापाताहरुको उत्खन्नका लागि सरकारी निकायलाई झग्झकाउने महत्वपूर्ण भूमिका सञ्चार माध्यमकै हुन्छ भन्ने भेउ नपाएर हो वा भेउ पाएर पनि सञ्चार माध्यहरुले बुझ पचाएका हुन् । बेलैमा यिनका ठेक्दारहरुले बुद्धि पु¥याए देशले मुहार फेर्ने थियो की ? देशलाई समृद्घ तर्फ अगाडि बढाउन प्रशस्तै सम्भावनाहरु छन । ति सम्भावनाहरु खोज्न हामीहरु अगाडि बढ्नु पर्ने छ । देशलाई समृिद्घ तर्फ उन्मुख गराउने हो भने हाम्रो देशमा भएका अथाह प्राकृतिक श्रोतहरु छन् । यहाँ भएका जंगल, जडिवुटि, जलश्रोत देखि बिभिन्न मनोरम हिमश्रृंखलाहरुको हामीहरुले भरपुर उपयोग र उपभोगयुक्त बनाउन सक्यौ भने मात्र पनि हामी नेपाली जनताले समृद्घशाली हुनेदिन टाढा छैन् ।
यद्धपि यति धेरै उज्वल संभावनाका ढोकाहरु हुदा हुदै पनि हामी अन्धकारमै रुमलिइ रहेको छौँ र देशलाई धारे हातलगाउंदै बिदेशिन बाध्य छौँ । आखिर यो बाध्यता हामीलाई किन आईपर्यो त ? सम्बन्धीत सरोकारवाला पक्षले बेलैमा सोच्नु पर्ने बेला आइसकेको छ र ति निकायहरुलाई बिउझाउनुपर्ने दायित्व पनि सञ्चार माध्यमहरुको हो । संचार माध्यमहरु कदापि पनि आफनो दायित्वबाट पन्छिन पाउने छैनन् । आज राजनितिको चक्रविह्यमा फसेका सञ्चार माध्यमहरुले अब देश बिकास र समृद्धिका ढोका ढक–ढक्याउन तर्फ समय खर्चनु पर्ने बेला आइ सकेको छ । यसैमा हामी सम्पूर्ण नेपालीको ध्यान पुग्नु जरुरी छ ।
बैकुण्ठ दाहाल
९८४१३३५६८७
लेखक राष्ट्रिय व्यापार संघका
सचिव हुनुहुन्छ ।