सहमतिमा आउन शिर्ष नेताहरुसँग सभामुखको आग्रह

0
312

काठमाडौ, ५ साउन । सभामुख ओनसरी घर्तीले संसदमा आउने सम्भावित गतिरोध समाधानका लागि आज बिहानै देखि पहल थाल्नु भएको छ  भोलि बस्ने संसद बैठकलाई सहमतिका आधारमै सञ्चालन गर्न सभामुख घर्तीले बिहानैदेखि भेटवार्ता थाल्नु भएको हो । अहिले बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग को भेटमा प्रधानमन्त्री केपी ओलीसँगको छलफल र निकासको विषयमा कुराकानी भएको छ । हिजो प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल भएको थियो । संसदको आगामी बैठकको कार्यसूचीसम्बन्धी दलहरुबीच विवाद बढेपछि सभामुखले सहमतिको प्रयास थाल्नु भएको हो । आजै उहाँले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग पनि छलफल गर्नुहुनेछ । शीर्ष नेताहरुसँगको छलफलपछि सम्भव भए आजै, नभए भोलि बिहान प्रमुख सचेतकहरुसँग छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ । बजेटसम्बद्ध तीन आश्रित विधेयकलाई संसदको कार्यसूचीबाट हटाउने कदमपछि एमालेले सभामुखप्रति नै असन्तुष्टि जनाइरहेको छ । कांग्रेस माओवादी भने पहिला अविश्वासको प्रस्तावमा छलफल गर्नुपर्ने अडानमा छन् । सभामुखले भने प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथिको छलफलका लागि भोलि बैठक बोलाउनु भएको छ । सत्तापक्षले सभामुखको कदम नसच्चिए बैठक चल्न नदिने रणनीति लिएको छ । एमाले, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, नेकपा माले सहितका सत्तारूढ दलका प्रमुख सचेतक तथा सचेतकहरूको सोमबारको बैठकले असार २९ को बैठकको कार्यसूचीमा रहेका आर्थिक विधेयकहरूको टुंगो नलागी अन्य विषयमा सदन बस्न नसक्ने निष्कर्ष निकालेको हो ।