संसद बैठक नै अन्योलमा

0
570

 काठमाडौ, ६ साउन ।  प्रधानमन्त्रीविरुद्धको अविश्वास र  बजेट आश्रित विधेयकको प्रस्ताव कुन पहिले अघि बढाउने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न नसक्दा व्यवस्थापिका संसद बैठक नै अन्योलमा परेको छ। सभामुख ओनसरी घर्ती मगरले संसदमा अविश्वासको प्रस्तावको सूचना दर्ता भइसकेको र यसअघिको मान्यतालाई मनन गर्दै अविश्वासको प्रस्तावलाई मात्रै कार्यसूचीमा राखेर बैठक आह्वान गरेपछि दलहरुबीच विवबद सुरु भएको हो। संसद बैठक आज १ बजेका लागि बोलाइएको छ । तर, संसदको कार्यसूचीलाई लिएर सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र–कांग्रेस गठबन्धनबीच विवाद उत्पन्न भएको छ। सरकार पक्षीय दलहरुले संसदले पास गर्न बाँकी रहेका तीनवटा आश्रित विधेयकलाई पहिले पारित भएपछि मात्रै अन्य विषयमा छलफल गर्नु पर्ने अडान राखेको छ। तर, माओवादी–कांग्रेस गठबन्धनले भने प्रधानमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकाले पहिले त्यसलाई नै अघि बढाउनु पर्ने अडान राखेका छन्। यी दुई पक्षको आआफ्नै अडानका कारण बिहीबारको संसद बैठक नै अन्योलमा परेको हो। सभामुखले दलहरुबीच सहमतिका लागि बुधवार दिनभर प्रयास गरेपनि त्यो सफल हुन सकेन। कार्यव्यवस्था परामर्श समितिमा पनि सरकार पक्षीय र अविश्वासको प्रस्ताव दर्ता गराएका दलका सदस्यहरुबीच विवाद भएको थियो। एमालेले बजेटसम्बन्धी आश्रित विधेयक पारित गर्ने यसअघिको एजेन्डालाई कार्यसूचीबाटै हटाएको र बिहीबार बस्ने संसद बैठकमा उक्त विषयलाई कार्यसूचीमा नराखेर वैठक सुरु गरे संसद चल्न नदिने चेतावनी दिएको छ।