हैदराबादको सन्ध्या थिएटरमा ४ डिसेम्बरमा भएको भागदौडमा महिलाको मृत्युको घटनामा संलग्न रहेको आरोपमा तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ ।
अल्लु अर्जुन अभिनित ’पुष्पा २ः द रुल’ को प्रिमियर शोका क्रममा घटना भएको थियो । अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरी स्रोतले जानकारी दिएको छ । पीडित परिवारको उजुरीका आधारमा अभिनेता अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।