काठमाडौँ, ७ साउन । नेपाली कांगे्रस,नेकपा एमाले र मावबादी केन्द्र बिच सहमति भएपछि व्यवस्थापिका–संसदमा छलफलको पहिलो विषय आर्थिक विधेयक वा अविश्वासको प्रस्ताव कुन हुने भन्ने विवाद सल्टिएपछि आजको बैठक सुरु भएको छ । बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । त्यसपछि सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले समितिको १८ औँ प्रतिवेदन २०७३ सदन समक्ष पेस गर्नुभयो । उक्त प्रतिवेदनमा मुलुकका विभिन्न निकायमा देखिएको आर्थिक अनुशासनहीनताले अनियमितता र भ्रष्टाचार मौलाउन गई आर्थिक सन्तुलन खलबलिएको उल्लेख गरिएको छ । आर्थिक प्रणाली प्रारदर्शी नहुँदा नेपालको छवि नै खस्किएको उल्लेख गर्दै सभापति शर्माले राज्यमा शासन र सुशासन कहाँ छ भनेर खोज्नुपर्ने अवस्था देखिएको टिप्पणी गर्नुभयो ।
आर्थिक अनियमितताका घटनामा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समितिले दिएको निर्देशनको आवश्यक पालना नभएको तथ्य पनि उहाँले सदनलाई जानकारी गराउनुभयो ।
बैठकमा भर्खरै आर्थिक विधेयकमाथि नेमकिपाका सांसद प्रेम सुवाल संशोधन प्रस्ताव पेस गर्नुभएको छ ।
आर्थिक विधयेकसँगै आजै सरकार विरुद्धको अविश्वासको प्रस्ताव पनि सदनमा पेस हुने कार्यसूची रहेको छ ।