समर्थक र प्रहरीबीच झडप

0
508

 काठमाडौ, ९ साउन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनका क्रममा डाक्टर गोविन्द केसीका समर्थक र प्रहरीबीच झडप भएको छ । करिब एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार चिकित्सक, नर्स, विद्यार्थी तथा सर्वसाधारण आयोग अगाडि प्रदर्शन गर्न गएका हुन । ठूलो संख्यामा परिचालित प्रहरीले जुलुशलाई टंगालस्थित भाटभटेनी सुपरमार्केट अगाडि नै रोकेको थियो। प्रदर्शनमा उत्रिएकाहरूले सुरूमा ‘तपाईं किन पागल ?’ भनी सोधिएको प्रश्नमा विभिन्न उत्तर दिए । कसैले ‘भ्रष्टाचारको विरोध गर्ने म पागल’, कसैले ‘सोलुखुम्बुमा स्वास्थ्य सेवा पुर्याउन खोज्ने म पागल’, त कसैले ‘तीन करोड सदाचारीको न्याय चाहने म पागल’, भनेका थिए । त्यसपछि सबैले ‘म पनि पागल, हामी पनि पागल’ भनेर नारा लगाउन सुरू गरेका थिए । ‘माफियाको मन्त्र, लोकमान तन्त्र’, ‘सांसदको घडीमा लोकमानको ब्याट्री’, ‘सबैतिर प्रष्ट छ, अख्तियारमै भ्रष्ट छ’, ‘लोकमान मुर्दावाद’, लगायत नारा लगाएका थिए । चिकित्सा क्षेत्र सुधारर अख्तियार दुरूपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै डाक्टर केसी पन्ध्र दिनदेखि अनसनरत हुनुहुन्छ । चिकित्सा क्षेत्रमा आफ्नो र आफ्ना नातेदारको निहित स्वार्थमा भ्रष्टहरूसँग मिलेर कार्कीले हस्तक्षेप बढाएको भन्दै केसीले महाअभियोग माग गर्दै अनसन बस्नुभएको हो । केसीले महाअभियोग माग गरेपछि अख्तियारले ‘पागल’ भनेको थियो। विरोधमा उत्रिएकाहरूले तीन करोड नेपालीको स्वास्थ्यको पक्षमा बोल्दा ‘पागल’ भनिएकाले आफूहरू पनि पागलै भएको भनेर प्रदर्शन गरेका थिए ।