पर्वतमा पहिरोको जाखिम बढ्यो,४ घर बिस्थापीत,बिस्थापितको बिजोग

0
853

पर्वत साउन ११ । उत्तरी पर्वतको माझफाँटमा मानव बस्तीभन्दा माथिको पहाड चिरिएर पहिरो खस्न थालेपछि गाविसका आधा दर्जन घर परिवार पूर्णरुपमा विस्थापित बनेका छन् भने २७ घर जोखिममा परेका छन् ।

लगातारको वर्षाका कारण पर्वतको लेकफाँट गाविस वडा नं ४ र ५ मा पर्ने लोप्रे र कुवापानीको सीमा क्षेत्रको पहाड चिरा परेर गत एक हप्तादेखि पहिरो खस्न थालेपछि माझफाँट गाविस–९ का बस्ती नै जोखिममा परेका हुन् ।

स्थानीय नगेन्द्र कार्की, पदम कार्की, डेगबहादुर कार्की र रन्जित पुनको परिवार अहिले पूर्णरुपमा विस्थापित बनेको छ । उनीहरु घर छाडेर माझफाँट गाविसमै सुरक्षित स्थानमा सरेका छन् ।

एक सातादेखि घर छाडेर खुल्ला आकाशमुनि बस्दा समेत कसैले राहत दिन नआएको गुनासो समेत विस्थापित परिवारको छ ।

उक्त पहाडबाट खस्न लागेको पहिरोका कारण माझफाँट गाविसका २० घर र बाँसखर्क गाविस–९ का २० घरपरिवार जोखिममा परेका छन् । उनीहरु रातभर जाग्राम बसेर रात कटाउने गरेका छन् । अन्यत्र सरेर जाने अवस्था नभएकाले उनिहरुको जिवन जोखिममा परेको छ ।

जोखिममा परेका २७ घर परिवारलाई सुरक्षित स्थानमा सर्न वा सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । उच्च स्थानमा रहेको पहाड पूरै चिराचिरा परेर खस्न थालेपछि तत्काल नियन्त्रण गर्न समेत सकिने अवस्था नरहेको जिल्ला भूसंरक्षण कार्यालयका प्राविधिक प्रकाश बस्नेतले जानकारी दिनुभयो ।
बिस्थापीत भएकाहरुलाई तत्कालै पाल र खाद्यान्न उपलब्ध गराउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनु भयो ।