तिनाउ नदीमा आजसम्मकै भिषण बाढी,आसपासका मानव बस्ती जोखिममा

0
390

बुटवल, ११ साउन । अविरल परेको बर्षाका कारण बुटवलको तिनाउ नदीमा ठूलो बाढी आएको छ । गएराती परेको भारी बर्षापछि तिनाउमा पानीको सतह ह्वात्तै बढेको हो । अहिलेसम्म कुनै मानवीय र भौतीक क्षती भने गराएको छैन । तर, नदी छेउका सयौं घर भने बाढीको उच्च जोखिममा छन् । तिनाउमा आएको बाढीका कारण मैनाबगर, बुद्धनगर, मझुवा, हात्तिसुढ, विनापाते, सुन्दरनगरलगायतका बस्तीहरु उच्च जोखिममा छन् । राती केहि बस्तीमा बाढी पसेको छ । मझुवामा राती बाढी पसेकाले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बुटवल सहरछेउको तिनाउ नदी किनारका करिब १ हजार घर बाढीको जोखिमा छन् । बाढीले नयाँ गाउँ क्षेत्रमा पनि दानव नदीले कटान गरेको छ । खेत पानीले जलमग्न भएको छ भने रुपन्देहीका उत्तरी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । नदीमा पानीको बहाव बढेसँगै प्रहरी, नेपाली सेना र रेडक्रस टोलीले सक्रियता बढाएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि महेन्द्र खड्काले नदी बढेपनि अहिलेसम्म क्षति नभएको भन्दै प्रहरीले बस्तीमा पुगेर सर्तक गराउने काम गरेको बताउनुभयो । बुटवल पालपा सडकखण्ड अबरुद्ध बुटवल पाल्पा सडकखण्ड अन्तर्गत पाल्पा झुम्सामा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । अविरल बर्षाका कारण झुम्सामा पहिरो खसेको हो । पाल्पा प्रहरीका अनुसार पानी परिरहेकाले पहिरो हटाउन सकिएको छैन । स्थानीयहरुका अनुसार केहि घर पहिरोले पुरेको बताइए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको छ ।