अबिरल बर्षाका कारण सुनसरीका मानव वस्ती डुवानमा

0
646

सुनसरी साउन ११ । केही दिन अघिदेखि परेको अविरल झरीले सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् । गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा आज बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव मापन भएको बताउनुभएको छ । अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् । बिहान कोसी नदीमा बाढी घटेपनि अहिले पुनः बाढीको बहाव बढ्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । यसैबीच, सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानमा सोमबार भएका घटनामा परी एक जनाको ज्यान गएको छ । अर्का एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार पूर्व झापा जाँदै गरेको बा ५६ प ६६६४ नम्बरको मोटरसाइकललाई झापाबाट काठमाडौँतिर जाँदै गरेको मे १ ख २०४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि यात्रारत गुल्मी घर भई बानेश्वरमा बस्दै आएका २० वर्षीय हिमाल खत्रीको घटनास्थलमा नै मृत्यु भएको छ । मोटरसाइकल चालक झापाका २१ वर्षीय निशान खरेलको जिल्ला अस्पताल इनरुवामा उपचारपछि घर गएको प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिनुभयो ।