बम आक्रमणमा मारीनेको संख्या ५२ पुग्यो, १७० भन्दा बढि घाईते

0
330

सिरिया १३ साउन, (एजेन्सी )।  कुर्दिसहरुको बलियो प्रभाव रहेका सिरियाको उत्तरपूर्वी सहरमा बुधबार भएका दुई वटा बम आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५२ पुगेको सिरियाली सञ्चार माध्यमले जानकारी दिएको छ । यस आक्रमणमा १७० भन्दाबढी घाइते भएका छन् । घाइतेमध्य धेरैको अवस्था चिन्ताजनक भएको हुनाले मृतक सङ्ख्या अझै बढ्न सक्ने सरकारी स्रोतले जानकारी दिएको छ । हिजो प्राप्त प्रारम्भिक समाचारमा यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएको जानकारी दिइएको थियो । टर्कीको सीमा क्षेत्रनजिकै रहेको कमिसली सरहमा सो कारबम आक्रमण भएको जनाइएको छ । स्थानीय टेलिभिजन च्यानल समाकाअनुसार यस आक्रमणकोे जिम्मा इस्लामिक स्टेट ९आइएस०ले लिएको छ । सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलनमा केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी सङ्गठन अल कायदा र आइएस हाबी हुदै गयो । ती आतङ्ककारीले गरेका बारम्बारको आक्रमणमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी यस आक्रमणमा लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ व्यक्ति आफ्नो देशमा र छिमेकमा पर्ने देशमा शरणार्थीको जीवन बिताउन बाध्य भएका छन् ।