मकवानपुरमा रात्री बस दुर्घटना नौ जनाको मृत्यु ।

0
346

मकवानपुर १६ साउन । मकवानपुरमा गए राती रात्री बस ठोक्कीदा नौ जना यात्रीको ज्यान गएको छ । काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नम्बरको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ । बस के कारणले ठोक्कीएको भन्ने पनि यकिन भएको छैन । बसको चालक निदाएकाले दुर्घटना भएको घाइते यात्रुले बताएका छन् ।

मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन ।

मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका गरी ३२ जना घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।