भारतमा चट्याङलागेर ३० जनाको मृत्यु ।

0
804

साउन १६ काठमाण्डौ एजेन्सी । भारतको ओडिशा राज्यमा चट्याङ लागेर विगत २४ घण्टामा कम्तीमा पनि ३० जनाले ज्यान गुमाएका छन् । स्थानीय पत्रकार सुब्रत कुमार पतिले जनाएअनुसार राज्यको आपत नियन्त्रण केन्द्रले २८ जनाको मृत्यु भएको पुष्टि गरिसकेको छ। यद्यपि मृत्यु हुनेको संख्यो योभन्दा बढी रहेको बताइएको छ। राज्यका मुख्यमन्त्री नवीन पटनायकले मृतकका परिवारजनलाई सरकारी राहत पुराउन निर्देशन दिएका छन् । चट्याङले भद्रकमा ८, बालेश्वरमा सात, खोर्धामा ५ जनाको मृत्यु भएको छ । यसका साथै मयुरभन्जमा चार, कटकमा दुई, जाजपुरमा तीन र नयागढमा एक जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ। बालेश्वर जिल्लाका आपतकालीन केन्द्रका अधिकारी दिनेश कुमारले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । भद्रक जिल्लाका आपतकालीन केन्द्रका अधिकारी राजेन्द्र पन्डाले पाँच जनाको मृत्यु भएको पुष्टि गरे । राज्यका विशेष उद्धार कमिश्नर प्रदीप्त महापात्रले अहिले मृतकको पोस्टमार्टम भइरहेको बताएका छन् । यता बिहार र आसममा पनि लगातारको वर्षाका कारण बाढीले स्थिति गम्भीर बनाएको छ। आसाममा बाढी प्रभावित क्षेत्रको अवलोकनपछि गृहमन्त्री राजनाथ सिंहले स्थिति निकै गम्भीर रहेको बताएका छन् । बाढीलाई राष्ट्रिय विपद गर्नु मात्र समस्याको समाधान नहुने उनले बताए । यस्तो स्थितिको सामना गर्न एक्शन प्लान नै बनाउनुपर्ने सिंहको भनाइ छ। आसममा अहिलेसम्म बाढीका कारण २६ जनाको मृत्यु भइसकेको छ । यता बिहारका दश जिल्लामा बाढीको स्थिति सिर्जना भएको छ। राज्यमा अहिलेसम्म २६ जनाले ज्यान गुमाएका छन् । राज्यमा सबैभन्दा बढी सुपौलमा ८, पूर्णियामा सात जनाको मृत्यु भएको छ।