नेपाल कप फुटबल प्रतियोगिता चितवनमा हुँदै

0
631

 काठमाडौँ, १७ साउन ।  चौँथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता यही साउन २४ देखि ३१ गतेसम्म चितवनमा हुने भएको छ । स्पोर्टस फर अल क्लब, नेपाल र राष्ट्रिय खेलकुद सङ्घको आयोजनामा हुने सो प्रतियोगितामा राजधानीका विभागीय टोली, ‘ए’ डिभिजनका क्लब र मोफसलका गरी १० टोलीले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपिएफ क्लब गरी तीन विभागीय टोली र राजधानीका ब्वाइज युनियन, एनआरटी तथा मोफसलका नारायणगढ फुटबल क्लब, रुपन्देही–११, वीरगन्ज युथ एकेडेमी, एभरेस्ट क्लब चितवन र रौतहट जिल्ला फुटबल सङ्घको टोलीले प्रतियोगितामा भाग लिनेछन् । नकआउट प्रणालीका आधारमा हुने प्रतियोगिताका विजेताले रु तीन लाखसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेताले रु दुई लाख पाउनेछ । यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकको भनाइ छ । सो प्रतियोगिता हरेक वर्ष मोफसलमा हुने गर्छ । यस पटक नारायणगढस्थित क्याम्पा चौरको खेल मैदानमा प्रतियोगिता गर्न लागिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष लोकबहादुर शाहीले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘फुटबल क्रेज’ भएको जिल्ला आयोजनाका लागि छनोटमा परेको बताउनुभयो । विसं २०७० देखि सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करण जनकपुधाममा भएको थियो भने २०७१ को दोस्रो र २०७२ को तेस्रो संस्करणका दुवै प्रतियोगिता इलामको फिक्कलमा भएको थियो ।