प्रधानमन्त्रीको निर्वाचन प्रकृया आजबाट शुरु भोली संसदमा निर्वाचन ।

0
599

साउन १८  काठमाडौ मंगलबार । नयाँ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया आजबाट सुरु हुंदै छ । आज प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता र भोलि मतदान हुने संसदसचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको सयम सीमामा कुनै प्रगति नभएपछि सोमबार बहुमतीय सरकार गठनको प्रक्रिया थाल्न आह्वान गर्नुभएको थियो । संसद सचिवालयले नयां प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।ca

महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्रीका लागि आज बिहान ११देखि साँझ ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय दिइएको छ । साढे ४ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ । बुधबार बिहान ११ बजे प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद बैठकमा मतदान हुने कार्यतालीकामा जनाइएको छ।

संविधानको धारा २९८ को ३को उपधारा २ बमोजिम सहमति कायम हुन नसके व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक जनाको मात्रै उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ ।

त्यसमा प्रस्तावमाथिको संक्षिप्त छलफलपछि प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन सांसदको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्ने प्रक्रिया अपनाइन्छ । यस्तो प्रक्रियामा संसदमा तत्काल बहाल रहेको कुल सदस्य संख्या ५ सय ९५ को बहुमत २ सय ९८ सदस्यको समर्थन प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ ।