पर्यटकीय प्याकेजका साथ पर्यटन ब्यवसायी राजधानीमा

0
578

 काठमाडौँ, १७ साउन ।  सुदूरपश्चिमको पर्यटकीय प्याकेज लिएर पर्यटन  व्यवसायीहरु  राजधानी आएका छन् ।  प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा रहेको सुदुरपश्चिममा पर्यटनमा प्रचूर सम्भावना भए पनि भौगोलिक अवस्थिति र पूर्वाधार अभावले गति लिन नसकेको सुदूरपश्चिमको पर्यटनको व्यावसायिक प्रवद्र्धनका लागि व्यवसायी जुटेका हुन् । पर्यटन विकास समाज नामक संस्थाको अगुवाइमा आएका व्यवसायी तथा टुर अप्रेटरले आज राजधानीका पर्यटन व्यवसायी एवम् सरोकारवाला निकायसँग पर्यटकीय प्याकेज प्रस्तुत गरी अन्तरक्रिया गरे । नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको उक्त कार्यक्रममा सुदूरपश्चिमका महत्वपूर्ण पर्यटकीय स्थललाई समेटेर सात वटा टुर प्याकेज ल्याइएको छ, जसअनुरुप रारादेखि खप्तडसम्मको दि एपी वेस क्याम्प–१३ दिन, दि फार वेष्ट हेरिटेज ट्रेल १७ दिन, एपी ट्रेक ११ दिन, रामा एन्ड रोशन नौ दिन, थाइसेन ट्रेक छ दिन, खप्तड ट्रेक छ दिन, खप्तड रारा ट्रेक २५ दिन र वाइल्ड वेष्ट ट्रेङ्गल १४ दिनको प्याकेज रहेको छ । सुदूरपश्चिमको समग्र पर्यटन विकासका लागि पर्यटकीय प्याकेज बनाएर प्रचारप्रसार अभियानमा जुटेको समाजका अध्यक्ष कृष्णबहादुर महराले बताउनुभयो । पर्यटन बोर्डमा आयोजित सुदूरपश्चिम पर्यटन विकासका अवसर र चुनौती विषयका अन्तरक्रियामा उहाँले पर्यटकीय प्याकेजको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनाउनुपर्ने बताउनुभयो । पर्यटन व्यवसायी एवम् कैलास टूर अप्रेटर सङ्घका अध्यक्ष नरेन्द्र भट्टले धार्मिक, सांस्कृतिक पर्यटनको महत्वपूर्ण सम्भावना बोकेको सुदूरपश्चिम क्षेत्रमा पर्यटकका लागि बस्न खानको राम्रो प्रबन्ध भएकाले ढुक्कसँग भ्रमणमा आउन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी अन्य वक्ताले भने सुदूरपश्चिमको पर्यटन विकासका लागि पूर्वाधार विकास तथा सरोकारवाला निकायबीच एकीकृत विकासका कार्यक्रम ल्याईनुपर्ने खाँचो औँल्याए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले प्राकृतिक तथा सांस्कृतिक पर्यटनको सम्भावना बोकेको सुदूरपश्चिमको पूर्वाधार विकासका लागि एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले घुमफिर वर्षलाई आन्तरिक पर्यटन प्रवद्र्धनका साथ छिमेकी भारत र चीनबाट बढी पर्यटक भित्र्याउने गरी बोर्डले प्रवद्र्धनात्मक काम गर्ने उल्लेख गर्नुभयो । बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पश्चिम भेगलाई आधार बनाएर पर्यटन प्रवद्र्धनका कार्यलाई अघि बढाइने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घ ९एनएमए० का अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट ९नाटा० का अध्यक्ष मधुसुधन आचार्य, पर्यटन व्यवसायीद्वय विक्रम पाण्डे र दीपक महतले प्रकृति र संस्कृतिको धनी सुदूरपश्चिमको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याउनु भयो ।