ने.वि.संघ महाधिवेशनका सवालहरु

0
823

बर्तमान सत्ता गठबन्धनका प्रधानमन्त्री केपि शर्मा ओली अल्पमतमा परेसँगै नेपाली काँग्रेस र माओवादी केन्द्र सहितको गठबन्धन सरकार निर्माणले नेपाली सञ्चार माध्यममा तिब्र तरंग पैदा गरेको छ । सोही कारण देशकै सबैभन्दा ठूलो बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघको यहि श्रावण २३ देखि हुन गईरहेको ११ औं महाधिवेशनको चर्चा यतिबेला छायाँमा परेका छ । भरखरै मात्र जारी संघिय नेपालको संविधान २०७२ कार्यान्वयन र अबको संघिय राज्य व्यवस्थामा कस्तो खालको शैक्षिक नीति नेविसंघले प्रस्तुत गर्ला भन्ने तिर सबैको चासोको बिषय बन्नु पर्ने थियो । तर यतातिर केहि सिमिति नयाँ नेतृत्वमा पुग्न इच्छुक विद्यार्थीबाहेक अरुमा त्यस्तो जाँगर देखिएन ।
नेबिसंघको महाधिवेशनको चटारो काँग्रेसको नेतृत्वमा रहेका नेतादेखि नेविसंघको नेतृत्वमा रहेका र सम्पूर्ण जिल्ला क्याम्पस ईकाइ र स्ववियुका प्रतिनिधिहरुमा हुन पर्ने हो । त्यो केबल जिल्ला र क्याम्पस तहका साथीहरुमा मात्र सिमिति रहेको आभाष हुन्छ । वर्तमान केन्द्रिय नेतृत्व समेत विधिवत महाधिवेशन सम्पन्न गर्नका लागि गर्नुपर्ने आवश्यक धेरै पक्षमा पूर्णतः उदासिन देखिन्छ । अधिकांश जिल्ला र भ्यालीभित्रका क्याम्पस ईकाइको अधिवेशन अहिलेसम्म हुन सकेका छैनन भने प्रतिनिधिहरुको समेत कुनै टुङ्गो छैन । jay
नेविसंघको ऐतिहासिक कालखण्ड वा अतितलाई हेर्न हो भने यो एक गौरवशाली इतिहाँस निर्माण गर्न सफल सबै लोकतान्त्रिक विद्यार्थीहरुको आशा र भरोसाको साझा संगठन हो जसले २०३६ सालको बिद्यार्थी आन्दोलन २०४६ सालको ऐतिहाँसिक आन्दोलन देखि २०६२÷०६३को लोकतान्त्रिक गणतन्त्रको आन्दोलनको नेतृत्वमा ठुलो भुमिका निर्वाह गरेको छ । यसको अगुवाईमा थुप्रै शैक्षिक एजेण्डाहरुले पुर्णता पाएका छन् ।
यस सवालमा आगामी दिनमा धेरै होसियारीका साथ अझै नविन कार्य गर्नु पर्ने अभिभारा आउँदो नेतृत्वमा छ । यस कारण पनि वर्तमान शैक्षिक बिकृति र विसंगती शैक्षिक विभेद शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरणदेखि असमान शैक्षिक प्रणालीमा जकडिएको हाम्रो देशलाई नयाँ शैक्षिक खाका यस महाधिवेशनले पेश गर्न सक्नु पर्दछ । नेबिसंघको आउँदो नेतृत्वले शिक्षालाई ब्यापारीकरणबाट मुक्त गराउने र शैक्षिक क्षेत्रमा देखिएका विध्यमान बिकृतिलाई मुक्त गर्न पहल गर्नुपर्दछ ।
विगतमा विद्यार्थी राजनीतिको नेतृत्ववाट पार्टि र सरकारमा पटक–पटक नेतृत्व गरेका व्यक्तित्वहरुबाट हिजो वहाँहरुले भन्ने गरेको आधुनिक, ब्यवहारिक, बैज्ञानिक २१ औं सताब्दीको माटो सुहाउँदो शिक्षा किन लागु गर्न सकेनन् त ? यसको उनिहरुसँग यस किसिमको खाका नै थिएन भन्ने कुरा प्रमाणित हुन्छ । र यहाँहरुसँग यस किसिमको आस गर्नु समयको बरवादी मात्र हो । यो सवालमा वर्तमान विद्यार्थी नेतृत्वले आफुलाई पूर्ण भएको प्रमाणित गर्न सफल भएन भने आगामी विद्यार्थी राजनीतिको औचित्व नै समाप्त हुन सक्छ । आसन्न ने.वि.संघको ११ औ महाधिवेशनको मिति आठौ पटक घोषणा र स्थगत हुँदै तय भएको हो । यस मितिमा पनि विधिवत अधिवेशन हुन्छ भन्नेमा देशभरिका विद्यर्थीहरु दुविधामा रहेका छन् वा आश्वस्थ हुन सकेका छैनन । यस्तो किन हुन्छ त ? भन्दा ने.वि.संघमा र सिङ्गो विद्यार्थी राजनीतिमा मौलाएको एउटा रोग नै भन्नु पर्छ यहाँ विद्यार्थी भएर राजनीति गर्ने भन्दा राजनीति गर्न विद्यार्थी हुनेको संख्या बढि छ । पार्टिको नेतृत्व विश्वविद्यालय र क्याम्पसमा कितावको झोला बोक्ने भन्दा आफ्नो झोला बोक्ने झोलेलाई नेतृत्वमा पु¥याउनुनै यसको प्रमुख जड रहेको मान्न सकिन्छ ।

त्यसैले ६ महिनाको समय सिमा भित्र नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने भनि आएको ने.वि.संघको वर्तमान नेतृत्वले ५ बर्ष बिति सक्दा पनि कुनै बहानामा आफ्नो आयु लम्बाउने प्रपञ्चमा रहेको महशुस हुन्छ । न त नेताको झोला बोक्ने कथित झोले नेतृत्वले कितावको झोला बोक्ने विश्वविद्यालय र क्याम्पसका विद्यार्थीहरुको शैक्षिक र राजनैतिक एजेण्डाको नेतृत्व गर्न सक्छ । न त किताव बोक्ने विद्यार्थीहरुले विधिवत अधिवेशन विना यी झोलेलाई नै विस्थापित गर्न सक्छ । त्यसैले यस पटकको घोषित मितिमा महाधिवेशनलाई विधिवत गर्न दवाव सिर्जना गर्दै हाम्रो र राम्रो साझा नेतृत्व चयन गर्नका लागि विभिन्न खालका गुट उपगुटमा विद्यार्थीहरु गोलबद्ध हुन सक्नु पर्ने ने.वि.संघका साथीहरु हाम्रो यस महाधिवेशनको चुनौति हो । नेपालको विद्यार्थी आन्दोलनमा विगतमा ने.बि.संघले ऐतिहाँसिक दायित्व र भूमिका निर्वाह गरेका कारणले गर्दा यो महाधिवेशनबाट ठूलो आसा राखेको छ ।

त्यो आसालाई साकार पार्ने एजेण्डा यस महाधिवेशनमा प्रस्तुत गर्न सक्नु पर्दछ । विद्यार्थी नेतृत्व नेता उत्पादन गर्ने कारखाना मात्र होइन । शैक्षिक परिवर्तनको नेतृत्वकर्ता पनि हो । विद्यार्थी विद्रोहका अश्र मात्र होइनन्, चेतनाका संवकाहक पनि हुन् भन्ने कुरालाई ब्यवहारमा प्रमाणित अवको नेतृत्वले गर्न सक्नु पर्दछ । साथै लोकतन्त्रको आधारशिला एवं सम्पूर्ण विद्यार्थीहरुको साझा संस्था स्व.वि.यु. निर्वाचन नभएको झण्डै ८ बर्ष पुग्नै लाग्यो । यसलाई निरन्तरताको खाँचो छ । जसको अस्तित्व विना आज विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिबिधिमा शैक्षिक माफिया र दलालहरुको हालीमुहाली दिनानुदिन बढ्दै गई रहेका छ । जसले गर्दा सरकारी शैक्षिक संस्था हरु दलाल र माफियाहरुको हरकत बढ्दो छ । जसलाई नियन्त्रण गर्न विद्यार्थी हकहितलाई वकालत गर्न पनि स्व.वि.यु. निर्वाचन नियमित गर्न जरुरी छ ।
अन्त्यमा ने.वि.संघको ११ औं महाधिवेशन लाखौंलाख विद्यार्थीहरुको भाग्य र भविष्यको रुपरेखा कोर्दै समग्र विद्यार्थी आन्दोलनको नेतृत्व गर्न सक्ने नेतृत्व चयन गर्नु पर्ने छ । बिवग र वर्तमानमा देखिएका ने.वि.संघ भित्रका केहि त्रुटी र कमजोरीलाई सच्याउँदै विविध गुट र उपगुटमा बिभाजित विद्यार्थी मन र मस्तिष्कलाई एकाकार गर्दै रचनात्मक र गतिशिल नेतृत्व चयन गर्नुनै आजको विद्यार्थी आन्दोलनको माग हो भने ने.बि.संघ ११ औं महाधिवेशनले यस किसिमको नेतृत्व चयन गर्ने आम विद्यार्थीको अपेक्षा पनि हो ।
जय नेपाल
जयराम दहाल
ने.वि.संघ नेता