पौडेल पक्षद्धारा सरकारमा ४० प्रतिशत माग

0
668

 काठमाडौ, १८ साउन ।  नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले सरकारमा मन्त्री पठाउँदा आफ्नो पक्षलाई ४० प्रतिशत भाग चाहिने माग गरेको छ । मंगलबार बिहान बसेको पौडेल पक्षको भेलामा नेताहरुले ४० प्रतिशत भाग नदिए आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन् । यसैगरी उनीहरुले सभापति शेरबहादुर देउवाले आफूहरुलाई बेवास्ता गर्दै निर्णय गर्न थालेको भन्दै कडा आपत्ति जनाएका छन् । देउवा पक्ष एकलौटी रुपमा अघि बढेको भन्दै निर्वाचनमा आवश्यक रणनीति तय गर्न पौडेलले आज आफू पक्षधर केन्द्रीय सदस्यको भेला डाकेका थिए । पौडेलको सम्पर्क कार्यालय अनामनगरमा डाकिएको भेलामा उनीलगायत प्रकाशमान सिंह, महेश आचार्य, नवीन्द्रराज जोशी, डा। शेखर कोइरालालगायतका नेताको सहभागिता थियो । सभापति देउवाको कार्यशैलीप्रति आक्रोशित बनेका पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै भेला डाकेका हुन् । सभापति देउवा एक्लै हिँडेपछि भेला बोलाउन बाध्य भएको पौडेल पक्षधरको भनाइ छ । पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।