दीगो बिकाश हुन नसक्नुमा राजनितिकरणको असर  

0
530

ताप्लेजुङ, १९ साउन ।  राष्ट्रको विकासका लागि खुलेका सङ्घसंस्थामा राजनीतिकरण बढेकाले दिगो विकास हुन नसकेको नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विनोदबहादुर श्रेष्ठले बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ, ताप्लेजुङको १५औँ साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि खुलेका संस्था राजनीतिक सङ्कटको चपेटामा परेकै कारण नेपालको विकासले गति लिन नसकेको बताउनुभयो । विभिन्न सङ्घसंस्थामा हुने नेतृत्वको भागबन्डादेखि विविधपक्षमा राजनीतिक प्रभाव परेकाले नै दिगो विकास हुन नसकेको श्रेष्ठले स्पष्ट पार्नुभयो । समग्र विकास सबैको साझा एजेन्डा भएकाले कुनै पनि सङ्घसंस्थामा राजनीतिक हस्तक्षेपलाई त्यागेर मिलेर अघि बढ्न राजनीतिक दललाई उहाँले सुझाव दिनुभयो । मुलुकको विकासमा उद्योग वाणिज्य सङ्घले अघि सारेको अवधारणामा नयाँ संविधानले केही अप्ठ्यारो सिर्जना गरेको भन्नेतर्फ केन्द्रित हुँदै श्रेष्ठले दलहरुले सहमतिको दस्तावेज भनेर ल्याएको संविधान मान्य नहुने बताउनुभयो । अर्कातर्फ सङ्घको विधान संशोधनको कुरा कोट्याउँदै उहाँले अब बन्ने प्रादेशिक संरचनाअनुसार सङ्घको हितमा हुने गरी विधान संशोधनको तयारी भएको उल्लेख गर्नुभयो । पूर्ववरिष्ठ उपाध्यक्ष तथा हालका विशिष्ट सदस्य भास्करराज राजकर्णिकारले भने हालको विधानका अवधारणा, विधानका सर्त पूरा गरेर मात्रै विधान संशोधनलाई अघि बढाउने बताउनुभयो । उहाँले राज्यको सङ्घीयताको विषयले अप्ठ्यारो भएको भन्दै सङ्घीयताको विषय टुङ्गो लागेपछि मात्रै उद्योग वाणिज्य सङ्घको नयाँ संरचनाको विकास हुने स्पष्ट पार्नुभयो । यस्तै, नेपालका निजी क्षेत्रलाई मुलुकको विकासका लागि सरकारले साझेदार बनाउने कि छाड्ने भन्ने विषय नै अन्योलमा परेकाले स्पष्ट नीति तथा कार्यक्रमका साथ अघि बढ्न नसकेको उल्लेख गर्दै सरकार यस विषयमा स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।