नागपञ्चमीका अवसरमा टौदहमा मेला ।

0
299

काठमाडौँ, २३ साउन । नागपञ्चमीका अवसरमा काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुर नगरपालिका– १४ स्थित टौदहमा आज मेला लागेको छ ।

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन उक्त स्थानमा नागको पूजा गर्न भक्तजनको मेला लाग्ने गर्छ । काठमाडौँबाट करिब ११ किमी दक्षिण भेगमा अवस्थित टौदह कर्कोटक नागको वासास्थानका रुपमा परिचित छ । तलाउका रुपमा रहेको काठमाडौँ उपत्यकामा बस्ती बसाल्न मञ्जुश्रीले चोभारको डाँडाबाट पानी निकास गराउँदा त्यहाँ रहेका नागराज कर्कोटक नागलाई टौदहमा राखिएको किंवदन्ती छ ।

टौदहमा नागपञ्चमीका दिन दुबो, गाईको दूध, अक्षता आदि चढाएमा नागबाट भय नहुने र घर परिवारमा सुख शान्ति तथा कल्याण हुने जनविश्वास छ । टौदह तथा त्यस वरपरका स्थानीयवासीले बारीमा फलेको नयाँ फल तथा तरकारी समेत ल्याएर नागलाई चढाउने गर्छन् ।

स्थानीयवासी सिकिन्दर केसीले आन्तरिक पर्यटकको प्रचुर सम्भावना बोकेको त्यस क्षेत्रमा स्थानीय प्रशासन तथा सरकारको ध्यान नपुग्दा पूर्वाधार तथा विकास निर्माणमा पछि परेकामा चिन्ता व्यक्त गर्नुभयो ।
टौदह ऐतिहासिक समयदेखि नै कर्कोटक तथा उनकी रानीको वासास्थान भएकाले पनि यसलाई धार्मिक पर्यटकस्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हिन्दू धर्मावलम्बीले नागपञ्चमीका दिन विशेष गरी घरका मूलढोकामा नागको चित्र टाँसेर पूज गर्ने परम्परा छ । यसो गर्दा सम्भावित अनिष्टबाट रक्षा हुने विश्वास छ । काठमाडौँ उपत्यकाका नागपोखरी, नागदहलगायत स्थानमा पनि मेला तथा महोत्सव समेत सुरु भएको छ ।