छिटो संबिधान कार्यान्वयन गर्नु पर्नेमा सरकारको ध्यानाकर्षण

0
554

 काठमाडौँ, २४ साउन ।  विभिन्न राजनीतिक दलका नेताले नेपालको संविधानमा रहेका कमजोरीलाई सच्याउने तथा मधेसी जनताको मागको सम्बोधन गरी संविधानमा संशोधन गरेर मधेसी मोर्चालाई पनि राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित कार्यक्रममा उहाँहरुले १८ महिनाभित्र प्रदेश र स्थानीय निकायको निर्वाचन गरी संविधानलाई कार्यान्वयन गर्ने सामूहिक जिम्मेवारी राजनीतिक दलको काँधमा रहेकाले एमाले र मधेस केन्द्रित दलले अतिवादी विचारलाई त्यागी सहमतिको विन्दुमा आएर देशलाई समाधान दिनुपर्नेमा जोड दिनुभयो । डेनमार्कमा १०३ वर्षदेखि गठबन्धनको संस्कृतिको विकास हुँदै आएको प्रसङ्ग प्रस्तुत गर्दै उहाँहरुले नेपालमा पनि गठबन्धनमा जाऊ भन्ने निर्वाचनको आदेशलाई स्वीकार गर्ने तथा सबै दललाई मूलधारमा ल्याउने अहिलेको समावेशी प्रजातन्त्रको युगअनुरुप अघि बढ्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता डा नारायण खड्काले संविधान असफल हुन नदिन काँग्रेसले माओवादी केन्द्रका नेताको नेतृत्वमा सरकार गठन गरेको बताउनुभयो । नेकपा एमालेका सचिव भीमप्रसाद आचार्यले मधेस आन्दोलनमा मृत्यु भएका परिवारलाई रु १० लाख दिने एमाले सरकारले निर्णय गरेको र उच्चस्तरीय संयन्त्रमार्फत संविधान संशोधन गरी मधेसको माग सम्बोधन गर्ने एमालेले पहिले नै निर्णय गरेकाले तीनबुँदे सहमतिमा नयाँ कुरा केही नभएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले काँग्रेससँग माओवादी केन्द्रले गरेको भद्र सहमतिलाई माओवादीले इमान्दारीपूर्वक पालना गर्ने बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले अपहेलनामा परेका तथा मधेसी आन्दोलनमा ज्यादतीमा परेका मधेसी जनताको माग सम्बोधन गरेर मात्र मधेसी आन्दोलनको अवतरण हुने बताउनुभयो । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले मधेसी समुदाय राजनीतिक मूलधारमा आउँछ भने राप्रपा नेपाल बाधक बन्दैन र संविधान संशोधन गरी सहयोग गर्न सकारात्मक छ भन्नुभयो ।