छोराको हत्यारालाई कारबाही गर्न प्रधानमन्त्रिलाई पाँच दिन समय

0
576

काठमाडौँ, २७, साउन ।  गङ्गामाया अधिकारीले आजदेखि बिनाऔषधि र बिनापानी आमरण अनशन सुरु गर्नुभएको छ । बिगत छ वर्षदेखि स्लाइनमा औषधि र पानीका भरमा अनशनमा बस्नुभएकी अधिकारीले आजबाट सुख्खा अनसन सुरु गर्नुभएको हो । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल भएसँगै आफूले न्याय पाउने आशा राखेको बताउँदै अधिकारीले आफ्ना छोराको हत्यारालाई कारबाही गर्न पाँच दिनको समय दिनुभएको छ । यही साउन २१ गते उहाँले पत्रकार सम्मेलन गरी सरकारलाई पाँच दिनभित्र आफ्ना मागबारे सम्बोधन गर्न आग्रह गर्दै त्यसो नभए आमरण अनशनमा बस्ने चेतावनी दिनुभएको थियो । विसं २०७१ असोज ६ गते अनशन बसेको ३३४ दिन हुँदा उहाँका श्रीमान् नन्दप्रसादको मृत्यु भएको थियो । उहाँको शव अहिले पनि महाराजगन्जस्थित शिक्षण अस्पतालमा छ । न्याय नपाएसम्म दाहसंस्कार नगर्ने अडान गङ्गामायाको छ । विसं २०६१ मा गङ्गामायाका १७ वर्षीय छोरा कृष्णप्रसादको तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेपछि छविलाल पौडेल, भीमसेन पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल लगायतलाई किटानी गरी चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरे पनि हालसम्म कुनै सुनुवाइ भएको छैन । हत्याराविरुद्ध कारबाहीको माग गर्दै छ वर्षअघि अधिकारी दम्पतीले आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको जनाउँदै अनशन सुरु गरेको थियो ।