सम्बिधान कार्यान्वयन प्रति दलहरुको चिन्ता

0
330

काठमाडौँ, ७ भदौ ।  प्रमुख प्रतिपक्षी नेकपा एमाले सहित विपक्षी दलको आज बसेको संयुक्त बैठकले संविधानको कार्यान्वयनका लागि अघिल्लो सरकारले ल्याएको कार्ययोजना लागू हुनुपर्नेमा जोड दिएको छ । सिंहदरबारमा आज भएको ती दलको बैठकले राष्ट्र तथा राष्ट्रियतामा अनुकूल हुने कुनै काम नयाँ सरकारबाट हुन नहुने जनाएको छ । पछिल्लो राजनीतिक समसामयिक विषयमा कसरी विपक्षी गठबन्धन प्रभावकारी हुन सकिन्छ भन्नेबारे बैठकमा छलफल भएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतामा आँच आउन सक्ने वा संविधान कार्यान्वयन हुन नदिने काम नयाँ सरकारबाट हुन सक्ने जनाउँदै त्यसमा एकताबद्ध र चनाखो हुन आग्रह गर्नुभयो । बैठकमा ओली नेतृत्वको सरकारमा अन्तिम समयसम्म साथ दिने र प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा मतदान गर्ने राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायत नेता सहभागी हुनुभएको थियो । यसैबीच गत सातादेखि जारी एमाले स्थायी कमिटीको बैठक आज पनि जारी छ ।