प्रमलाई पत्र सार्बजानिक गर्न एमालेको माग

0
302

 काठमाडौं ,८ भदौ,।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेको छ । संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर विदेशी भूमिमा छलफल गरेको भन्दै एमालेको आपत्ति छ । एमालेले भारततर्फ संकेत गर्दै कुनै देशको अतिरिक्त चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताएको छ । ‘तर, अहिले जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो आपत्तिजनक र निरर्थक छ,’ स्थायी कमिटी बैठकपछि एमालेले विज्ञप्ति जारी गर्दै भनेको छ। ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ ।’सरकारले आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्त्याउने त्रूटिपूर्ण काम गरेको भन्दै एमालेले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको हो । साथै, नेपालको भविष्य नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पुर्‍याउने कुनै किसिमका काम नगर्न सरकारलाई सचेत गराएको छ ।