दोस्रो कार्यकाल उपलब्धिपूर्ण बनाउंछु : प्रधानमन्त्री प्रचण्ड ।

0
306

काठमाडौँ, ११ भदौ । भुकम्प पिडीतहरुले पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान गोरखाका आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्न सक्ने बस्तीको उचित व्यवस्थापन गर्न पनि आरुघाटवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरुघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

प्रधानमन्त्री दाहालले आफू कठिन अवस्थामा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आरुघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीलाई आरुघाटवासीले सामूहिक बधाई तथा शुभकामना दिँदै सफल कार्यकालका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।