काठमाडौँ, ११ भदौ । प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्व सांसद बालाराज कार्कीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
लामो समयदेखि प्रवास र जेल जीवन बिताउनुभएका स्व कार्कीको शुक्रबार साँझ ८३ वर्षको उमेरमा निधन भएको थियो । पशुपति आर्यघाटमा उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको ठूलो उपस्थिति थियो ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले स्व कार्कीको पार्थिव शरीरमा काँग्रेसको झन्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
स्व कार्कीको पार्थिव शरीरमा उहाँका छोरा गणेशराज कार्कीले दागबत्ति दिनुभएको थियो ।
कार्की २०४८ सालमा ओखलढुङ्गाबाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो ।