अवैध  ग्राभेल तथा ढुंगा उत्खनन् रोकिएन

0
437

 जनकपुर,१३ भदौ,  । सरकारी ऐन कानूनलाई उल्लंघन गर्दै धनुषाको नदीबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन गरी ढुवानी गर्ने तीन ट्रिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपी अवैध रुपमा ग्राभेल तथा ढुंगा उत्खनन् रोकिएको छैन । धनुषाका नक्टाझिझ र लक्ष्मीनिवामा पर्ने औरही खोला र सौते खोला किनारबाट अवैध रुपमा बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन् गरेर जनकपुर ल्याउंदै गरेको तीन ट्रिफरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरी पोष्ट जनकपुर मुजेलियाले चेकजाँचको क्रममा आइतबार राति बालुवा, गिट्टी र ग्राभेल लिएर आउँदै गरेको ट्रिफर चेकजाँच गर्दा आवश्यक कागजात नभेटिएपछि नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए । प्रहरीले ए.यस.शुन्य.एन.एन.जी.सी. २१७३, ना.१ ख. ५५४८ र एस.शुन्य जी.सी. ८३२७ नम्बरको ट्रिफर अवैध ग्राभेल सहित नियन्त्रण्मा लिएको बताए । नियन्त्रणमा लिएको ट्रिफर रेल्वेको काम गर्ने भारतीय कम्पनी नायक इन्फ्रष्ट्रक्चर प्रालिको हो । पक्राउ गरिएका तीन वटै ट्रिफर जिल्ला विकास समिति धनुषालाई सोमबार जिम्मा लगाउने धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले जानकारी दिए ।