काठमाडौँ, १८ भदौ । बागमती सफाइ महाअभियानको १७३ औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
निजामती कर्मचारी दिवसको उपलक्ष्यमा आजको सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा ५०० कर्मचारीको सहभागिता थियो । पूर्व मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, खानेपानी तथा सरसफाइ सचिव डा सञ्जय शर्मा, पूर्व सचिव सुरेशप्रकाश आचार्य, जयमुकुन्द खनाल, माधव रेग्मी, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मालगायत विभागीय प्रमुखको सफाइमा सक्रियता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेश सिंहले जानकारी दिनुभयो ।
सफाइका क्रममा मुख्यसचिव सुवेदी नेतृत्वको समूहले टेकुवरपरका घर घरमा छिरेर नदीमा फोहर नफालौँ, फाल्नेलाई कारबाहीका लागि नजिकको प्रहरी अथवा काठमाडौँ महानगरपालिकालाई खबर गरौँ, बागमती सफाइमा सबै सहभागी बनौँ भनी जनचेतनामूलक अभियान समेत सञ्चालन गर्नुभएको थियो ।
निजामती दिवसको सन्दर्भमा बाग्मती सफाई गरिए पनि तिनै सचिवहरुबाट जनताले पाउने सेवा सुबिधाको सफाई हुन नसक्दा जनता मारमा छन् । जनताले सरकारका सचिवहरुले बाग्मती सफाई मात्रै गरेर नहुने भन्दै बिभागीय सेवाको स्तरमा सफाई गर्न सुझाव दिएका छन् । अहिले पनि सरकारी कार्यालयमा सेवाग्राहीले सजिलै सेवा पाउन सेकका छैनन् । सेवा प्रदान गर्ने सरकारी कर्मचारी जनताको खल्तीमा आंखा लगाउने प्रबृत्ति अन्त्य नभए सम्म जनताले शुसाशनको प्रत्यभूति गर्न नपाउने निश्चित भएको छ । तसर्थ हरेक बर्ष निजामती कर्मचारी दिवस मात्रै बनाएर जनताको आँखामा छोरो हाल्नु भन्दा जनताले परिवर्तनको प्रत्याभुत गर्न पाउने सेवाको स्तर बिकासमा लागे यो दिवसको सान्दर्भीकता पुष्टि हुने थियो ।