काठमाडौ, २० भदौ । मानव बेचबिखन विरुद्धको दशौं राष्ट्रिय दिवस, आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । “एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो साझा सरोकार” भन्ने नाराका साथ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाइमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा, महिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुहुँदै सामाजिक र मानवीय कलंकको रुपमा रहेको बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सरकार सँधै प्रतिबद्ध रहेको बताउनुभएको छ । बेचबिखन तथा ओसारपसारका नयाँ नयाँ आयामहरुको शूरुवात भएको भन्दै त्यसविरुद्ध लाग्न गैरसरकारी निकाय तथा हरेक नागरिकको पनि सहयोग सरकारलाई आवश्यक पर्ने उहाँको शुभकामना सन्देशमा भनिएको छ । चेतनाको अभाव र गरिबीका कारण हुँदै आएको बेचबिखन दुव्र्यवहार, शोषण र बेरोजगारीका कारण पनि झन् फैलिएको मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले शुभकामना सन्देशमा भन्नु भएको छ ।