आज ऋषि पञ्चमी,ऋषेश्वरमा महिलाको घुईचो ।

0
455

काठमाडौँ, २१ भदौ ।आज ऋषि पञ्चमी पर्व महिलाहरुले बिधि पुर्वक मनाउंदै छन् । हरितालिका तीजमा ब्रत बसेका महिलाहरुले आज पञ्चमी पुजा लगाए पछि बिधिवत् रुपमा तीज पर्व सम्पन्न हुने गरेको छ । काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा महिला भक्तजनको घुइँचो लागेको छ ।

हिन्दू नारीले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउने ऋषिपञ्चमीमा सप्तर्षिको पूजा गर्न मन्दिरमा श्रद्धालु महिला भक्तजनको भीड लागेको हो । नारीले आज सबेरै नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गरी पवित्र भई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ । यसो गर्दा नारीले रजस्वलाका समयमा जानी नजानी छुवाछूत भएको भए तथा त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गरेमा दोष हट्ने र पाप नलाग्ने धार्मिक मान्यता छ ।

टेकुमा मेला लागेको हुँदा उक्त बाटो भएर हिँड्ने सवारी साधनलाई आज निषेध गरिएको प्रहरीले जनाएको छ । मन्दिर गएराति १२ बजेपछि नै दर्शनार्थीका लागि खुल्ला गरिएको प्रहरीले जानकारी दिएको छ ।