१६ थान कौडा र ४ लाख नगद सहित ८ जुवाडे पक्राउ

0
346

 पोखरा, २२ भदौ ।  मंगलबार नगद चारलाख सहित ८ जना जुवाडे पक्राउ परेका छन् । पोखरा उपमहानगरपालिका वडा नम्बर २९ हेमजा फेदीबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । हेम्जास्थित मनहरी भण्डारीले सञ्चालन गरेको भण्डारी रेष्टुरेन्ट एण्ड खाजा घरमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक मोहनबहादुर खाणको नेतृत्वमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले १६ थान कौडा र ४ लाख ९ हजार २५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा होटल सञ्चालक मनहरी भण्डारी, पोखरा नयाँ बजारका विष्णु बास्तोला, महेन्द्र रानामगर, चिप्लुढंगाका नवराज थपलिया, पोखरा नदीपुरका चिरञ्जिवी गुरुङ्ग र सोही ठाँउका कमल सापकोटा रहेको प्रहरीले जनाएको छ ।त्यस्तै पोखरा १४ चाउथेका नारायण श्रेष्ठ र मोहरिया टोलका गोपाल पन्थीलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।