अनुदान बढाउन सरकारसँग कमैया समाजको माग।

0
383

काठमाडौं ,२४ भदौ ।  शुक्रबार विहान सिंहदरबार पुगेर मुक्त कमैया समाजले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई १२ बुँदे ज्ञापनपत्र बुझाएर जग्गा खरिदका लागि दिइने अनुदान रकम बढाउन माग गरेको छ । सुशील कोइराला नेतृत्वको सरकारले डेढ वर्ष पहिले मुक्त कमैयाहरुलाई जग्गा खरिदका लागि दिने अनुदान रकम रु. १ लाख ५० हजारबाट बढाएर २ लाख रुपैयाँ पुर्‍याएको थियो । २ लाख रुपैयाँले जग्गा पाइन छोडेको भन्दै मुक्त कमैयाहरुले अनुदान बढाउन माग गरेका हुन् । वार्तामा प्रधानमन्त्री प्रचण्डले माग सम्बोधनका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार सरकारले अझै ३ हजार ५ सय मुक्त कमैयालाई पुर्नस्थापना गर्न बाँकी छ । समाजको ज्ञापनपत्रमा पहिचान हुन नसकेका छुट मुक्त कमैयालाई तत्काल पहिचान गरेर परिचयपत्र उपलब्ध गराइनुपर्ने, मुक्त कमैयाहरुको निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने, मुक्त कमैया महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग समावेश छन् ।