संविधान संशोधन गर्न सबै दलको सहमति आवश्यक छ : नेम्वाङ

0
348

 बिराटनगर ,२४ भदौ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड नेतृत्वको सरकार संविधानले स्थापित गरेको मान्यता विपरीत चल्न थालेको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले  आरोप लगाएका छन् । बिराटनगर विमानस्थलमा शुक्रबार स्थानीय संचारकर्मीसँगको कुराकानीमा नेता नेम्वाङले अघिल्ला सरकारले गरेको निर्णयहरु एक पछि अर्को उल्टाउँदै सरकार एकलौटी रुपमा अघि बढेको आरोप लगाए । उनले भने, ‘फास्ट ट्र्याक निर्माणको जिम्मा भारतलाई दिने, प्रधानमन्त्री प्रचण्डले संसदमा नयाँ नीति तथा कार्यक्रमको झल्को दिने गरिएको सम्वोधन लगायतका विषयमा सरकारले प्रष्ट गर्नुपर्छ । उनले मधेसी मोर्चाले उठाएका मागलाई सम्वोधन गर्ने बहानामा देश र जनताको हित विपरित संविधान संशोधन कार्य भए आफूहरुलाई मान्य नहुने चेतावनी दिए । मधेसी मोर्चाले उठाएका मागलाई छलफल र सम्वादबाट समाधान गर्न सकिने भन्दै नेम्वाङले भने, ‘आवश्यकता अनुरुप देश र जनताको हितमा संविधान संशोधन गर्नुपर्छ तर यसमा सबै दलको सहमति आवश्यक छ ।’