प्रधानमन्त्रीको भ्रमणको एजेण्डा तय गर्न परराष्ट मन्त्री भारत जांदै ।

0
552

भदौ २६ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको अन्तिम एजेण्डा तय गर्न त्यता जान लागेका परराष्ट्र मन्त्रीले आफ्नो भ्रमणमा विगतमा थाँती रहेका महत्वपूर्ण विषय कार्यान्वयनको तयारीमा केन्द्रित हुने बताएका छन्।
तीन दिने भ्रमणमा रहंदा परराष्ट्र मन्त्री प्रकाशशरण महतले भारतीय परराष्ट्र मन्त्रीसंग भेटेर एजेण्डालाई अन्तिम रुप दिने बताइएको छ।
प्रधानमन्त्रीले भारत भ्रमणका बेला कुनै विवादास्पद सम्झौता नगर्ने बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले आसन्न भारत भ्रमणमा कुनै राजनीतिक सम्झौता नगर्ने बताइरहेका बेला भ्रमणको एजेण्डा तय गर्न प्रकाशशरण महत त्यतातर्फ जान लागेका हुन्।
उनले भ्रमणमा दुई देशबीच गति लिन नसकेका कतिपय आयोजनामा छलफल गरी त्यसविषयमा साझा दृष्टिकोण बनाउन प्रयत्न गरिने बताएका छन्।
भारतसंग छलफल हुने एजेण्डाबारे परराष्ट्रमन्त्री प्रकाश शरण महतले भने, ूपञ्चेश्वर आयोजना एकदमै महत्वपूर्ण छ। बिजुली खरिद बिक्रीको सम्झौतामा केही बुँदाहरु थप्न आवश्यक छ। ठूला नदी नेपालबाट भारतमा प्रवेश गर्छन्। विभिन्न बाँध र विविध कारणले गर्दा नेपालको वस्ती डुबानमा पर्ने अवस्था आँउछ। त्यो समस्या कसरी हटाउने, रेल्वे नेटवर्क व्यवस्थित किसिमले जोड्ने विषयहरु छन्। यी कुराहरु छलफलका विषय हुन् लगायत धेरै विषयवस्तु छन्, त्यसमा हाम्रो छलफल केन्द्रित हुन्छ।
भ्रमणमा हुलाकी राजमार्ग निर्माण पूरा गर्ने विषयमा सम्झौता हुनसक्ने पनि संकेत गरे।

उनले भने, पहिलो चरणको कुरा करिव करिव मिलिसकेको छ। अब अनुदान रकम सिधै नेपाललाई दिएर नेपालले बनाउने कुरा अगाडी वढ्दैछ। त्यसमा केही नपुग पैसा हामीले नै राख्दैछौं। र दोस्रो चरणको लागि थप सहयोगको लागि हामीले अपेक्षा गरेका छौं।
ठूला र पूरा नहुने सम्झौताको सूची थप्ने भन्दा पूराना विषयलाई मात्र द्रूत गतीमा कार्यान्वयन गर्न सके भ्रमण सार्थक हुने उनको विश्वास छ।
आगामी बिहीबार शुरु हुने भ्रमणमा प्रधानमन्त्री प्रचण्डले सम्वन्ध सुधारको नयाँ प्रयत्न गरिने बताउँदै आएका छन्।
भारत भ्रमण सन्दर्भ पारेर शनिबार गरिएको एउटा सार्वजनिक कार्यक्रममा बोल्दै उनले राष्ट्रको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विपक्षमा हुने कुनै कुरा आफूले भ्रमणका बेला नगर्ने बताएका थिए। बिबिसी