चिकित्सक सङ्घ प्रजातान्त्रीक समुहको कब्जामा, अध्यक्षमा मुक्तिराम श्रेष्ठ विजयी ।

0
487

काठमाडौँ, २७ भदौ । नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी हुनुभएको छ ।

उहाँले एक हजार ६५२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गर्नुभएको छ । यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा डा ढुण्डिराज पौडेलले एक हजार ६१७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी डा सन्तोष पौडेलले एक हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा डा मुकुन्द दाहालले एक हजार ५०९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी डा शिवेन्द्र झाले एक हजार १५१ मत प्राप्त गर्नुभएको छ ।

महासचिवमा डा लोचन कार्की विजयी हुनुभएको छ । उहाँले एक हजार ३०० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धीद्वय डा अजयकुमार मिश्रले ७१८ र स्वतन्त्र उम्मेदवार डा पुष्पमणि खरालले ७१२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा भने समावेशी समूहका डा रक्षा श्रेष्ठले एक हजार ४३९ मत प्राप्त गरी विजयी प्राप्त गुर्नभएको छ ।
सहसचिवमा डा अभिमन्यू झाले एक हजार ४५८ प्राप्त गरी विजयी हुनुभएको छ । सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी एक हजार ३७४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सदस्यमा डा सञ्जीव तिवारी, डा शैलेश प्रधान, डा अनिलविक्रम कार्की, डा कृष्ण पौडेल, डा विश्वराज दवाडी र डा बद्री रिजाल निर्वाचित हुनुभएको छ ।

उपत्यका र उपत्यका बाहिर दुई चरणमा सम्पन्न निर्वाचनमा दुई हजार ८६९ मत खसेको थियो । काठमाडौँ उपत्यकामा एक हजार ४७५ र उपत्यका बाहिरका १५ शाखाबाट एक हजार ३९४ मत खसेका थियो । सङ्घमा पाँच हजार ३०५ सदस्य रहेका छन् ।