अब ३० घण्टामा बागलुङदेखि सिधै नँया दिल्ली पुगिने ।

0
331

 बागलुङ, २७ भदौ ।  असोज ७ गतेबाट बागलुङदेखि छिमेकी मुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु हुने भएको छ ।  ७ गते पहिलो बस यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान हुनेछ । धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स प्रालिसँगको सहकार्यमा बस चलाउन लागेको हो । साताको आइतबार, बुधबार र शुक्रबार सेवा सुचारु हुने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिन लागिएको समितिका अध्यक्ष कुमार खड्काले बताए। बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरीगेट बरफ खानामा गएर रोकिनेछ । एक हजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु तीन हजार २०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए । बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँ दिल्ली पुग्नेछ । बागलुङ–नयाँ दिल्ली बस सेवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष अर्जुन चोखालले बताए। यात्रुको चापअनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बस सेवा चलाउन सकिने समितिले जनाएको छ । निकट भविष्यमै भारतको सिलिगुढी, गुवाटीमा पनि बस सेवा सुचारु गर्ने योजना समितिको छ ।