पोखरा, २८ भदौ । स्याङजा सिर्सेकोट–९ निवासी केशरी अधिकारीले बसमा छोडेको १० तोला बराबरका सुनका गहनासहितको झोला बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले फिर्ता गरेका छन् ।
यही २४ गते शुक्रबार माइती गल्याङबाट घर फर्कंदै गरेकी अधिकारीले गल्याङबाट पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित ग १ ख ३४२० नम्बरको बसमा १० तोला सुनसहितको झोला बिसिएकी थिईन् । तीजमा माइत जाँदा लगाएको सुन घर फर्किने क्रममा बाटोमा लगाउँदा असुरक्षित हुन्छ भन्ने सोचेर सुरक्षाका लागि झोलामा राखिएकोमा झोला बसमा छोडिएपछि उनको परिवार चिन्तामा डुबेको थियो ।
अधिकारी परिवारले सुनको माया मारिसके पनि बसका सहचालक चन्द्रबहादुर क्षेत्रीले बस सफा गर्ने क्रममा झोला फेला पारेपछि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालयमा पुगेर आफूले फेला पारेको झोला बुझाएका थिए । झोला हराएपछि अधिकारी परिवारको पहिलो सम्पर्क एउटा बसका चालक थलबहादुर बरुवालसँग भयो ।
समितिका कर्मचारीले अधिकारी परिवारलाई झोला सुरक्षित रहेको जानकारी गराउँदै लिन आउन सूचना गरेपछि आएका अधिकारी परिवारलाई समितिले एक कार्यक्रमबीच सोमबार १० तोला सुनसहितको झोला हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा सहचालक क्षेत्रीलाई ५ हजार नगदसहित सम्मान गरिएको थियो।