देउडा नाच्ने क्रममा दार्चुलामा ग्याङ फाईट, एक जनाको मृत्यु ।

0
802

दार्चुला, २८ भदौ । चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति हत्या भएको छ भने चक्कु प्रहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला अपी नगरपलिका–४ दहका २७ वर्षीय धिरेन्द्र कुँवर, १७ वर्षीय रमेश कुँवर र सोही ठाँउकै १६ वर्षीय उमेश कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो ।

अपी नगरपालिका–५ छापरीको कोटमा देउडा खेलिरहेका बेला सोमबार दुई समूहबीच झडप भएको थियो ।

मृत्यु हुनेमा अपी नगरपालिका–४ का २२ वर्षीय गणेश कँुवर रहेका छन् । चक्कु प्रहारबाट घाइते कुँवरको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसक्दा भारत रिफर गरिएको थियो । कुँवरको थप उपचारका लागि भारत लैजाँदै गर्दा गएराति बाटोमै ज्यान गएको हो ।

यसअघि घाइतेको पेटमा गहिरो चोट रहेकाले लगातार रगत बगिरहेको अस्पतालले भनेको थियो।

पक्राउ परेका तीनैजना विरुद्घ कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले बताएको छ ।