काठमाडौ।, २८ भदौ – आज मंगलबार मुस्लिम धर्मालम्बीहरूले दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) पर्व मनाउँदै छन् । बकर इदका अवसरमा गृहमन्त्रालयले आजका लागि सार्वजनिक विदा दिएको छ । यसैबीच, इदका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भनेकी छन्, ‘विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पुर्याएको बताएकी छिन् ।
उपराष्ट्रपति पुनले बकर इदको शुभकामना दिँदै इदको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्मसंस्कृति र भुगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि इदको शुभकामना दिँदै ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो, बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्,’ भनेका छन् ।
प्रधानमन्त्रीले सन्देशमा राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्था मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुने विश्वास समेत व्यक्त गरेका छन् ।
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा स्वदेश एवम् विदेशमा रहेका इस्लाम धर्मावलम्बीलाई शुभकामना दिनुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै उहाँले विविध जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको अनुपम उदाहरण रहेको हाम्रो मुलुकको उन्नति, हित र अग्रगतिका साथै सबैका बीचमा हार्दिकता र ऐक्यबद्धता आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।
यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लामिक धर्मावलम्बीहरूको पवित्र पर्व एवम् महान चाड बकर ईदका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गर्दै उहाँले यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।