काठमाडौं ,३० भदौ। नेपालमा पूर्व पश्चिम रेलमार्ग निर्माणमा भारतले सहयोगको प्रस्ताव गर्ने सक्ने देखिएको छ । १०३० किलोमिटर लामो यो रेलमार्ग निर्माण र यसको लागतबारे दुई देशबीच कुराकानी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भारतले रेलमार्ग निर्माणको प्रस्ताव गर्ने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारत प्रस्थान गर्दैछन् । भारत जानु अघि संसदलाई भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले रेलवे सेवा सञ्चालनसम्वन्धी सम्झौता हुन सक्ने बताएका थिए । भारतीय अधिकारीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डको यो भ्रमणका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल निर्माणबारे दुई देशबीच छलफल हुनेछ । ‘हामी यो प्रजेक्टलाई छिट्टै अघि बढाउन चाहन्छौं’ भारतीय रेलवे अधिकारीले भनेका छन्, यो ठूलो विकास परियोजना हो ।’