नयाँ दिल्ली, ३१ भदौ नकुल अर्याल। चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीदेखि समकक्षी नरेन्द्र मोदीसँग महत्वपूर्ण भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहालले आज द्विपक्षीय वार्ता गर्नुका साथै महत्वपूर्ण सम्झौता हुने कार्यक्रम रहेको छ । यहाँस्थित भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालका अनुसार महत्वपूर्ण भेटघाटका क्रममा दुई देशीय हितका विषयमा कुराकानी हुनेछ ।
प्रधानमन्त्रीको कार्यतालिकाअनुसार राष्ट्रपति भवनमा आयोजना हुने ‘गार्ड अफ अनर’ समारोहमा प्रधानमन्त्री सहभागी हुनुहुनेछ भने उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ ।
त्यसपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसंग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तालगत्तै उहाँले भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकारका वरिष्ठ मन्त्री एवम् पदाधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।