उपराष्ट्रपतिद्धारा असंलग्न राष्ट्रको शिखर बैठकलाई सम्बोधन,बिकासमा लगानी बढाउनुपर्नेमा जोड ।

0
498

असोज २ काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले असंलग्न राष्ट्रहरुको १७ औँ शिखर बैठक (नाम)लाई आज सम्बोधन गर्नु भएको छ । भेनेज्वेलाको मार्गरिटा टापूमा जारी बैठकलाई सम्बोधन गर्दै पुनले सुनियोजित ढङ्गले संसारभर जरा गाडेको असमानतालाई हटाउन र सबैको साझा समृद्धिका लागि विश्वव्यापी आर्थिक न्यायका पक्षमा नामले आफूलाई उभ्याउनुपर्ने बताउनु भएको छ ।
असंलग्न आन्दोलन शान्ति, न्याय र समानताको अभिव्यक्ति भएको उहाँको भनाई थियो ।

नामका आधारभूत सिद्धान्त र आदर्शप्रति नेपालको अटल आस्था रहेको र ती सिद्धान्त र आदर्श नेपालको परराष्ट्र नीतिको निर्देशक सिद्धान्तको रुपमा रहेको उहाँको भनाई थियो ।

विश्वव्यापी शासन प्रणालीमा संयुक्त राष्ट्रसङ्घको नेतृत्वदायी भूमिकाको चर्चा गर्दै पुनले वर्तमान विश्वमा व्यापक रुपमा भएका राजनीतिक परिवर्तनलाई प्रतिबिम्बित गर्न राष्ट्रसङ्घीय पद्धतिमा व्यापक सुधार हुनुपर्नेमा जोड दिएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

उपराष्ट्रपति पुनले विकासोन्मुख मुलुकलाई आफ्नो कुल राष्ट्रिय उत्पादनको निश्चित प्रतिशत औपचारिक विकास सहायता लगाउन आग्रह गर्नु भएको थियो ।