उपराष्ट्रपति र भेनेजुवेलाका राष्ट्रपति बीच भेटवार्ता ।

0
577

काठमाडौँ, ३ असोज । असंलग्न आन्दोलन (नाम) को सत्रौँ शिखर बैठकमा भाग लिने सिलसिलामा भेनेज्वेलामा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले आज त्यहाँका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच असंलग्न आन्दोलन र पारस्परिक चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा भेनेज्वेलाका विदेशमन्त्री र एसिया मामिलासम्बन्धी उपविदेशमन्त्रीको पनि उपस्थिति थियो ।

त्यसैगरी उपराष्ट्रपति पुन र भारतका उपराष्ट्रपति हमिद अन्सारीबीच पनि भेटवार्ता भएको मन्त्रलायले जनाएको छ ।

भेटमा नेपाल–भारत सम्बन्धबारे छलफल भएको थियो ।

त्यसैगरी आजै उपराष्ट्रपतिसँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव किम ऊन सोले शिष्टाचार भेट गर्नुभयो । उक्त भेटमा संयुक्त राष्ट्र सङ्घीय शान्ति तथा निःशस्त्रीकरणको कार्यालय काठमाडाँैमा पुनःस्थापना गर्ने तथा संयुक्त राष्ट्र सङ्घ र नेपालको सम्बन्धबारे विचारविमर्श भएको बताइएको छ ।

ती सबै भेटमा नामको सत्रौँ शिखर बैठकमा भाग लिन भेनेज्वेला पुग्नुभएका नेपाली प्रतिनिधिमण्डलका उच्च अधिकारीहरुको उपस्थिति थियो ।