काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको पहिलो वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौको सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ ।
संविधानसभामार्फत एकवर्ष अघि आजकै दिन संविधान जारी भएको खुसियालीमा सरकारले हरेक असोज ३ गते संबिधान दिवस मनाउने निर्णय गरेको छ ।
संविधान दिवस मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समरोहमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत देशका बिशिष्ठ महानुभावहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, सांसदहरु, तीनवटै सुरक्षा निकायका प्रमुख समारोहमा उपस्थिति थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक दलका नेताको पनि सो समारोहमा उपस्थिति थियो ।
समारोहमा राष्ट्रपति भण्डारी, समारोह समिति अध्यक्ष एवम् प्रम दाहाल प्रधानन्यायाधीश कार्कीले शान्तिको प्रतिक सेतो परेवा उडाउनुभएको थियो ।
नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि तथा संविधान दिवस–२०७३ लेखिएको ब्यानर समारोहमा प्रदर्शन गरेको थियो ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका तीनवटै जिल्लाका जिविस तथा नगरपालिकाले सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का खेलाडीले देखाएको कला कौशल समारोहस्थल आकर्षण बनेको थियो । करिब दुई घन्टा अवधिको सो कार्यक्रममा तीनवटै सुरक्षा निकायले राष्ट्रिय भावनाले ओतप्रोत भएका सङ्गीत तथा नृत्यसमेत प्रदर्शन भएको थियो ।
संविधान दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदासमेत दिइएको छ । सरकारले संबिधान दिवस तीन दिन सम्म मनाउने भन्दै हिजो नै संसद भवनमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।