छुट्टा छुट्टै स्थानमा डुबेर पाँच बालकको मृत्यु ।

0
676

 काठमाण्डौ,४ असोज ।  काभ्रेपलाञ्चोक मङ्गलटार घर भई हाल भक्तपुर नगरपालिका–४ नागपोखरी बस्दै आएका जङ्गे तामाङका दुई वर्ष चार महिनाको छोरा अनिल नजिकैको पोखरीमा डुबेपछि उपचारका लागि सिद्धिस्मृति अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए।
त्यसैगरी भक्तपुर नगरपालिका–३ कमलविनायकस्थित राजन चित्रकारको निर्माणाधीन एकतले घरको भुइँतलामा बनाइँदै गरेको भूमिगत पानी ट्यांकीमा डुबेर अर्को एकादशी प्याथका पाँच वर्षीय छोरा आर्यनको मृत्यु भएको छ। उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारकै क्रममा उनको निधन भएको विष्टले जानकारी दिए।

त्यस्तै धनगढी–कैलाली जिल्लाको अत्तरिया नगरपालिकास्थित गोदावरी नदीमा डुबेर सोमबार साँझ तीन बालकको मृत्यु भएको छ । अत्तरिया नगरपालिका– १३ का शङ्करबहादुर कार्कीका १५ वर्षीय छोरा विशाल, पदम विकका १० वर्षीय छोरा निराजन र लालबहादुर विकका १२ वर्षीय छोरा उमेशको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।  अत्तरिया नगर क्षेत्रका तीन छुट्टाछुट्टै घन्टेश्वर, पुष्पाञ्जलि र जेके विद्यालयमा ती बालक अध्ययनरत रहेको बताइएको छ । उनीहरु सोमबारको सार्वजनिक बिदाको दिन ती बालक अत्तरिया बजारबाट पश्चिम रहेको गोदावरी नदीमा सँगै नुहाउन गएका थिए ।