काठमाडौँ,४ असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा आज राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासीसम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिएका छन् । बैठकमा उनले दिगो विकास प्राप्तिसम्बन्धी सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रका आ–आफ्ना नीति प्राथमिकतामा जोड दिनुपर्ने बताए। बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा मन्त्री महतले जोड दिएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । सबै आप्रवासी शरणार्थी होइनन् भन्दै उनले स्पष्ट पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्ने बताए । सोमबार न्युयोर्क पुगेका मन्त्री महतलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायतले स्वागत गरेका थिए ।