अस्पताल जान हेलीकप्टर चार्टर !

0
500

पर्वत, ६ असोज । पर्वतका ग्रामीण सडक अवरुद्ध हँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडाँै लै जानुपर्ने अबस्था आएको छ ।

पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानु परेको छ । छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस्ती गाविसका ५५ वर्षीय टीकानिधि पाध्यालाई बुधबार साँझ श्री एअरलाइन्सको हेलिकप्टरमार्फत राजधानी लगिएको हो ।

मङ्गलबारदेखि एक्कासि बिरामी परेका पाध्यालाई स्थानीयस्तरमा उपचार गरेर निको हुने सम्भावना नभएपछि सिधै राजधानीस्थित ग्रान्डी अस्पतालमा लगिएको स्थानीयवासी राधाकृष्ण पाठकले जानकारी दिनुभयो ।

उक्त हेलिकप्टर चार्टर गर्दा रु दुई लाखभन्दा बढी खर्च लागेको छ । आर्थिक अवस्था कमजोर भएपनि ऋण गरेरै हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता आएको उहाँले गुनासो गर्नुभयो ।